बाँके । कुनै समय नरैनापुरका गाउँमा वर्षा सुरु हुनासाथ सडक हिलाम्मे हुन्थे। बिरामी परे अस्पताल लैजानै मुस्किल। साँझ परेपछि बिजुलीको अभावले गाउँ अँध्यारो हुन्थ्यो। टेलिफोनका टावर देखिए पनि नेटवर्कको भर हुँदैनथ्यो।
नरैनापुरका लागि यी समस्या कुनै कथा थिएनन्, वर्षौँदेखि भोग्दै आएको यथार्थ थिए।
निर्वाचन आउँदा पक्की सडक बनाउने, गाउँमा बिजुली पुर्याउने र सरकारी सेवा गाउँमै ल्याउने प्रतिबद्धता सुनिन्थ्यो। कतिपय ठाउँमा विद्युत्का पोलसमेत गाडिन्थे। तर निर्वाचन सकिएपछि ती वाचा पनि हराउँथे, पोल भने बिजुलीको प्रतीक्षामा उभिइरहन्थे।
नरैनापुर–१ महतिनियाका स्थानीय नजिर खाँलाई ती दिन अझै सम्झना छन्।
“निर्वाचनका बेला सडक र बिजुलीको कुरा धेरै हुन्थ्यो। पोल पनि गाडिन्थे। तर चुनाव सकिएपछि कुरा हराउँथ्यो, पोल मात्रै ठडिएका हुन्थे,” खाँ विगत सम्झन्छन्।
तर अहिले नरैनापुरको तस्वीर विस्तारै फेरिएको छ।
पक्की सडक गाउँसम्म पुगेको छ। विद्युत्को पहुँच विस्तार भएको छ। सञ्चार तथा इन्टरनेट सेवा बढेको छ। बैंकिङ र प्रशासनिक सेवा गाउँमै उपलब्ध हुन थालेका छन्। सडक र विद्युत्को विस्तारसँगै स्वास्थ्य, शिक्षा र स्थानीय आर्थिक गतिविधिमा पनि सहजता थपिएको स्थानीयको अनुभव छ।
यो परिवर्तन एकै दिनमा आएको होइन। यसका पछाडि वर्षौँदेखि थाती रहेका विकासका काम अघि बढाउने प्रयास र स्थानीय सरकारको निरन्तर पहल जोडिएको छ।
महामारीले देखाएको वास्तविकता
नरैनापुरको विकास यात्रामा कोरोना महामारी एउटा निर्णायक मोड बन्यो।
विसं २०७७ मा कोरोना संक्रमण फैलिँदा नरैनापुरमा ११८ जनामा संक्रमण पुष्टि भयो। एक जनाको मृत्यु भयो। त्यसबेला गाउँको स्वास्थ्य पूर्वाधार र विद्युत् अभाव दुवैको समस्या सतहमा आयो।
नरैनापुर–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक संरचना हुँदाहुँदै पनि विद्युत् अभावका कारण आइसोलेसन केन्द्र सञ्चालनमा कठिनाइ भयो।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार जेनेरेटरबाट सेवा सञ्चालन गर्ने प्रयास गरिए पनि त्यो दीर्घकालीन समाधान बन्न सकेन।
त्यसपछि वर्षौँदेखि अलपत्र अवस्थामा रहेको विद्युतीकरणको कामलाई अघि बढाउन स्थानीय सरकार सक्रिय भयो।
महामारीले नरैनापुरलाई एउटा पाठ सिकायो—स्वास्थ्य सेवा बलियो बनाउन विद्युत् र सडक जस्ता आधारभूत पूर्वाधार अपरिहार्य रहेछन्।
त्यसयता विद्युत् विस्तारले गति लियो। स्वास्थ्य संस्थामा सेवा सञ्चालन गर्न सहज भयो। सञ्चारका साधन प्रयोग गर्न र दैनिक जीवनका काम गर्न स्थानीयलाई सहज हुँदै गयो।
दुई दशकको प्रतीक्षापछि सडक
नरैनापुरको परिवर्तनको अर्को महत्वपूर्ण आधार बनेको छ—सडक।
नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्वमा, राप्ती नदीपारि भारतको सीमासँग जोडिएको नरैनापुर कुनै समय बाँकेकै दुर्गम क्षेत्रका रूपमा चिनिन्थ्यो।
वर्षामा हिलो र बाढी, हिउँदमा धुलो—स्थानीयको दैनिकी यस्तै थियो।
दशकौँदेखि चर्चामा रहेको करिब ४४ किलोमिटर लामो नेपालगञ्ज–बघौडा सडक निर्माण र कालोपत्र भएपछि भने अवस्था बदलिन थालेको छ।
नेपालगञ्ज बसपार्कदेखि नरैनापुरको भारतीय सीमा क्षेत्र कटकुइँयाको सुइयासम्म सडक पुगेपछि गाउँ र बजारबीचको दूरी व्यवहारमै घटेको छ।
अब बिरामीलाई अस्पताल लैजान सहज भएको छ। किसानले उत्पादन बजारसम्म पुर्याउन पाएका छन्। विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको छ। दैनिक उपभोग्य सामग्री गाउँसम्म पुर्याउन पनि पहिलेभन्दा सजिलो भएको स्थानीय बताउँछन्।
राप्ती नदीको बगर तथा केही पुल निर्माणका काम बाँकी रहे पनि सडक सञ्जालले नरैनापुर र आसपासका बासिन्दाको आवतजावतमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।
अध्यक्ष शाहका लागि सडक केवल यातायातको साधन होइन, विकासको ढोका खोल्ने आधार हो।
“सडक र विद्युत् विस्तारसँगै स्वास्थ्य, शिक्षा, बैंकिङ, टेलिफोन र इन्टरनेट सेवामा पनि सुधार ल्याउन सकिन्छ। अबको लक्ष्य नागरिकलाई आफ्नै गाउँमा सहज सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधार गर्नु हो,” अध्यक्ष शाहको भनाइ छ।
गाउँमै सिंहदरबारको अनुभूति
नरैनापुरको परिवर्तन सडक र बिजुलीमा मात्र सीमित छैन।
स्थानीय सरकारको प्रशासनिक भवन निर्माण भएर सञ्चालनमा आएको छ। प्यानलगायतका विभिन्न प्रशासनिक सेवा स्थानीय तहबाटै उपलब्ध हुन थालेका छन्।
यसअघि सामान्य प्रशासनिक कामका लागि समेत नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो। अहिले भने धेरै सेवा गाउँमै उपलब्ध हुन थालेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार नागरिकलाई सहज र सरल सेवा दिने उद्देश्यले स्थानीय तहबाटै सेवा विस्तार गरिएको हो।
नापी तथा मालपोत सेवा पनि स्थानीयस्तरबाट सञ्चालन गर्ने तयारी भइरहेको छ।
यसले एउटा महत्वपूर्ण परिवर्तनलाई संकेत गर्छ—सरकार नागरिकको घरदैलोमा पुग्न थालेको छ।
पूर्वाधार बने, अब समृद्धिको पालो
तर नरैनापुरको यात्रा अझै पूरा भएको छैन।
सडक बनेको छ, बिजुली पुगेको छ, सरकारी सेवा गाउँमा आएको छ। तर गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारजस्ता चुनौती अझै छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयको गरिबीसम्बन्धी अध्ययनअनुसार बाँकेका स्थानीय तहमध्ये नरैनापुरमा गरिबीको दर ५० प्रतिशतभन्दा बढी छ।
त्यसैले अध्यक्ष शाह अबको विकासलाई पूर्वाधारभन्दा अगाडि लैजानुपर्ने बताउँछन्।
“सडक र विद्युत् पुगेपछि मात्रै विकास पूरा हुँदैन। नागरिकको आर्थिक अवस्था सुधार्नु, रोजगारी सिर्जना गर्नु र शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर बढाउनु अबको मुख्य आवश्यकता हो,” शाह भन्छन्।
गाउँपालिकाले गरिबीको रेखामुनि रहेका परिवारलाई लक्षित गर्दै सीपमूलक तालिम, रोजगारी र आयआर्जनका कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर स्थानीय उत्पादन बढाउने र कृषिको आधुनिकीकरण गर्ने योजना पनि अघि सारिएको छ।
गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार उत्पादन र आयआर्जन बढाउन सकिने कार्यक्रमलाई प्राथमिकता दिइँदैछ।
स्वास्थ्यमा अर्को चुनौती
नरैनापुरमा पूर्वाधार निर्माणसँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार अर्को महत्वपूर्ण विषय बनेको छ।
निर्माण गरिएको अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्ने र स्थानीय नागरिकलाई गुणस्तरीय उपचार सेवा गाउँमै उपलब्ध गराउने विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ।
यसले नरैनापुरका नागरिकलाई स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।
नजिर खाँको आँखामा फेरिएको नरैनापुर
केही वर्षअघिसम्म बिजुलीको पोल मात्र देखेका नजिर खाँ अहिले गाउँमा बलेको बत्ती र पक्की सडक देखिरहेका छन्।
“गाउँमा यति सहज रूपमा पक्की सडक र बिजुली आउला भन्ने सोचेको थिइनँ। कोरोना महामारीकै बीचमा सडक र बिजुली पुगेपछि हामी निकै खुसी भयौँ,” उनी भन्छन्।
खाँको यो भनाइ नरैनापुरमा आएको परिवर्तनको एउटा प्रतिनिधि अनुभव हो।
अब प्रश्न विकासको परिणामको
नरैनापुरले दुर्गमको पहिचानबाट बाहिर निस्कने यात्रा सुरु गरेको छ।
कहिले वर्षामा हिलाम्मे सडक, बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ र विद्युत्को अभावले चिनिने नरैनापुरमा अहिले सडक, बिजुली, सञ्चार, बैंकिङ र प्रशासनिक सेवाको पहुँच विस्तार हुँदैछ।
स्थानीय सरकारका लागि भने चुनौती अब अझ ठूलो छ।
किनकि पक्की सडक बनिसकेपछि त्यो सडकले रोजगारीसम्म पुर्याउनुपर्छ। बिजुली पुगेपछि त्यो उज्यालो उत्पादन र आयआर्जनमा बदलिनुपर्छ। गाउँमै पुगेको अस्पतालले गुणस्तरीय उपचार दिनुपर्छ। सरकारी कार्यालयले नागरिकलाई सहज र प्रभावकारी सेवा दिनुपर्छ।
अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा नरैनापुरले पूर्वाधार निर्माणको चरण पार गर्दै समृद्धितर्फको यात्रा अघि बढाउने प्रयास गरिरहेको छ।
नरैनापुरको आगामी विकासको वास्तविक मापन अब कति सडक बन्यो, कति पोल गाडिए वा कति भवन बने भन्ने मात्र हुनेछैन।














