नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे कार्यकालमा विदेश भ्रमणका क्रममा ९०० करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको छ।
भारतको विदेश मन्त्रालयले संसदका दुवै सदन लोकसभा र राज्यसभामा प्रस्तुत गरेको विवरणअनुसार सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्म मोदीले ८१ देशमा १८३ पटक विदेश भ्रमण गरेका छन्।
मोदीले सबैभन्दा धेरै विदेश भ्रमण सन् २०१५ मा गरेका थिए। उक्त वर्ष उनले २८ पटक विदेश भ्रमण गरेका थिए। त्यसपछि सन् २०२५ मा २३ देशको भ्रमण गरेका थिए।
खर्चका हिसाबले भने सन् २०२५ सबैभन्दा महँगो वर्ष बनेको छ। उक्त वर्ष मोदीको विदेश भ्रमणमा मात्रै १८७ करोड ८० लाख भारतीय रुपैयाँ खर्च भएको थियो। सन् २०१५ मा भने ९१ करोड ५० लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
संसदमा प्रस्तुत विवरणअनुसार सन् २०२२ देखि २०२४ सम्मको तीन वर्षमा मोदीको विदेश भ्रमणका क्रममा आवासमा करिब १०४ करोड, अन्य खर्चमा ७५७ करोड, यातायातमा ७१ करोड तथा कार्यक्रमस्थल, सुरक्षा र उपकरणमा करिब चार करोड भारतीय रुपैयाँ खर्च भएको थियो।
मोदीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै अमेरिकाको भ्रमण गरेका छन्। उनले हालसम्म १० पटक अमेरिका भ्रमण गरेका छन्। त्यस्तै, संयुक्त अरब इमिरेट्स, जापान र फ्रान्सको आठ–आठ पटक भ्रमण गरेका छन्।
सन् २०१९ मा गरिएको अमेरिका भ्रमण पनि सबैभन्दा महँगो भ्रमणमध्ये एक थियो। उक्त भ्रमणमा ३७ करोड ७० लाख भारतीय रुपैयाँ खर्च भएको थियो। सोही क्रममा मोदीले टेक्सासको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा करिब ५० हजार मानिस उपस्थित थिए।
विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा आवास तथा अन्य सुविधाको खर्च आयोजक देशले बेहोर्ने गर्छ। तर, भ्रमणमा सहभागी हुने अधिकारीहरूको खर्च र सुरक्षा व्यवस्थापनको जिम्मेवारी भने भारत सरकारले नै लिने गरेको छ।
मन्त्रालयले उच्चस्तरीय विदेश भ्रमणले विभिन्न देशसँगको सम्बन्ध सुदृढ बनाउन तथा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी स्तरमा भारतको कूटनीतिक संलग्नता विस्तार गर्न सहयोग पुग्ने जनाएको छ।
हाल मोदी फिलिपिन्सको दुईदिने भ्रमणमा रहेको विवरणमा उल्लेख छ। उनी मनिलामा आयोजित आसियान–भारत शिखर सम्मेलनमा सहभागी हुन पुगेका हुन्। भ्रमणका क्रममा उनले क्वाड शिखर सम्मेलनमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ।













