१२ मंसिर २०८३, शुक्रबार
Follow us :

विश्वकप २०२७ को छनोट प्लेअफ नेपालमा हुने, आईसीसीद्वारा खेल तालिका सार्वजनिक

युगान्तर पाेष्ट

काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रक्रियाअन्तर्गत क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ८ देशका टोली सहभागी हुनेछन्। प्रतियोगितामा नेपाल, इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुँदैछन्।

प्रतियोगिताका खेलहरू काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

आयोजक नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको खेल तालिका

डिसेम्बर ४ : नेपालविरुद्ध इटाली

डिसेम्बर ६ : नेपालविरुद्ध युगान्डा

डिसेम्बर १० : नेपालविरुद्ध यूएई

डिसेम्बर १२ : नेपालविरुद्ध जर्सी

डिसेम्बर १४ : नेपालविरुद्ध क्यानडा

डिसेम्बर १८ : नेपालविरुद्ध नामिबिया

डिसेम्बर २१ : नेपालविरुद्ध कुवेत

प्रतियोगिता एकल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। सहभागी आठ टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन्। अंकतालिकाको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ को विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

ग्लोबल छनोटमा यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले स्थान सुरक्षित गरिसकेका छन्।

नेपालमा हुन लागेको यो प्रतियोगिता नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। घरेलु मैदानमा खेल्ने अवसर पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको अर्को चरणमा पुग्ने लक्ष्य राख्नेछ।

२२ कार्तिक २०८३, शनिबार १८:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२