राजापुर, बर्दिया। राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि सरोकारवालाबीच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS), बाँके युनेस्को क्लब (BUC), प्लान इन्टरनेशनल नेपाल, सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।
नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, बडघर, संघसंस्था, विकास साझेदार तथा सञ्चारकर्मीको सहभागिता थियो।
कार्यक्रममा राजापुरको शैक्षिक अवस्थाको समीक्षा गर्दै सिकाइ उपलब्धि, विद्यालयको वातावरण, शिक्षकको उत्तरदायित्व, अभिभावकको सहभागिता तथा समुदायको भूमिकाबारे छलफल गरिएको थियो। साथै बालविवाह, कुलत तथा प्रविधिको अस्वस्थ प्रयोगले बालबालिकाको शिक्षामा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका उपायबारे पनि सुझाव संकलन गरिएको थियो।
सहभागीहरूले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा विकास साझेदारबीच समन्वय र साझा जिम्मेवारी आवश्यक रहेकोमा जोड दिएका छन्। संकलित सुझावलाई आगामी शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयनमा उपयोग गर्ने बताइएको छ।














