१४ मंसिर २०८३, आईतवार
Follow us :

मोहर्रमको अवसरमा नेपालगञ्जमा चिसो पानी र फ्रुटी वितरण, सद्भावको सन्देश

युगान्तर पाेष्ट

नेपालगञ्ज, असार १२। मोहर्रमको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका–४ र ५ वडामा गोल्डेन एबिसी स्कुलका संस्थापक विकास बहादुर सिंहको आयोजनामा श्रद्धालु तथा सर्वसाधारणलाई चिसो पानी र फ्रुटी वितरण गरिएको छ।
नेपालगञ्जमा अत्यधिक गर्मीका बीच सञ्चालन गरिएको यस सेवामूलक कार्यक्रमबाट मोहर्रमका अवसरमा सहभागी भएका श्रद्धालु, स्थानीय बासिन्दा तथा यात्रुहरू लाभान्वित भएका थिए। चर्को घाम र गर्मीका कारण तिर्खाएका नागरिकले चिसो पानी र फ्रुटी पाएपछि खुसी व्यक्त गरेका थिए।
कार्यक्रमका आयोजक तथा गोल्डेन एबिसी स्कुलका संस्थापक विकास बहादुर सिंहले नेपालगञ्जलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्तिको नगरका रूपमा चिनिने भएकाले सबै समुदायबीच भाइचारा र एकताको भावना अझ बलियो बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी वर्ष मोहर्रमका अवसरमा अझ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा सहभागी मुस्लिम समुदायका अगुवा तथा स्थानीय व्यक्तित्वहरूले धार्मिक अवसरलाई सेवामूलक कार्यसँग जोडेर गरिएको पहलको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी विश्वास, सम्मान र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरे।
धार्मिक पर्वलाई केवल परम्परागत रूपमा मनाउने मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्ने प्रयासले नेपालगञ्जमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीको भनाइ छ। विभिन्न समुदाय मिलेर बसोबास गर्ने नेपालगञ्जमा यस्ता कार्यक्रमले सामाजिक एकता, सहकार्य र भाइचाराको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

१२ असार २०८३, शुक्रबार १५:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२