१४ मंसिर २०८३, आईतवार
Follow us :

ईद–उल–अजहाको अवसरमा बिकास सिंहद्वारा फ्रुटी र पानी वितरण

युगान्तर पाेष्ट

नेपालगन्ज-नेपालगन्जमा इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकरीद (ईद–उल–अजहा) को अवसरमा धार्मिक सद्भाव र मानव सेवाको सन्देशसहित फलफुल, पानी तथा फ्रुटी वितरण गरिएको छ।
समाजसेवी तथा गोल्डेन एबिसी स्कुलका सञ्चालक बिकास बहादुर सिंहले बिहीबार नेपालगन्जको बीपी चोकस्थित ईदगाहमा सामूहिक ईद नमाजका लागि उपस्थित मुस्लिम समुदायका श्रद्धालुहरुलाई फलफुल, चिसो पानी तथा फ्रुटी वितरण गर्नुभएको हो।
बकरीदको नमाज सम्पन्न भएपछि हजारौंको संख्यामा उपस्थित मुस्लिम धर्मावलम्बीहरुबीच गरिएको उक्त सेवामूलक कार्यलाई स्थानीयवासीले धार्मिक सद्भावको उत्कृष्ट उदाहरणका रुपमा लिएका छन्। कार्यक्रममा बालबालिका, वृद्धवृद्धा तथा युवाहरुले समेत वितरण गरिएको सामग्री ग्रहण गरेका थिए।
यस अवसरमा बोल्दै समाजसेवी सिंहले नेपालगन्ज बहुधार्मिक तथा बहुसांस्कृतिक सद्भावको शहर भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपालगन्जमा हिन्दु, मुस्लिम, शिख, इसाई सबै समुदायबीचको आपसी प्रेम, सम्मान र सहकार्य नै यहाँको सबैभन्दा ठूलो पहिचान हो। यस्ता चाडपर्वले एकअर्काबीचको सम्बन्ध अझ प्रगाढ बनाउने काम गर्छन्।”
उहाँले धर्मभन्दा माथि मानवता रहेको उल्लेख गर्दै सबै समुदायको सुख–दुःखमा साथ दिनु नै आफ्नो उद्देश्य रहेको बताउनुभयो। सिंहले विगतका वर्षहरुमा पनि हिन्दु, मुस्लिम तथा शिख समुदायका विभिन्न पर्वहरुमा खाद्यान्न, प्रसाद तथा आवश्यक सामग्री वितरण गर्दै आउनुभएको जानकारी दिनुभयो।
यसैबीच, ईदगाहमा उपस्थित मुस्लिम समुदायका अगुवाहरुले पनि समाजसेवी सिंहको कार्यको प्रशंसा गरेका छन्। स्थानीय मुस्लिम अगुवा बदरुदिन अन्सारीले भन्नुभयो, “बकरीद मुस्लिम समुदायको ठूलो पर्व हो। यस्तो अवसरमा गैरमुस्लिम दाजुभाइबाट देखाइएको सहयोग र सम्मानले हामीलाई अझ नजिक बनाएको छ। नेपालगन्जमा सद्भाव र भाइचाराको सम्बन्ध निकै बलियो छ।”
त्यस्तै, नमाजमा सहभागी मोहम्मद जावेद हल्वाईले धार्मिक सहिष्णुताले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने बताउँदै यस्ता कार्यले नयाँ पुस्तालाई पनि एकताको सन्देश दिने धारणा व्यक्त गर्नुभयो।
बकरीदको अवसरमा नेपालगन्जमा बिहानैदेखि मस्जिद तथा ईदगाहहरुमा विशेष नमाज अदा गरिएको थियो। मुस्लिम समुदायले एकआपसमा शुभकामना आदानप्रदान गर्दै पर्वलाई हर्षोल्लासका साथ मनाएका छन्।

१५ जेष्ठ २०८३, शुक्रबार १२:१३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक/सम्पादक :
नरेन्द्र थापा
सूचना विभाग दर्ता नं. :
....-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८४८०२३६६२