नेपालगञ्ज — बाँके क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले निर्वाचनमा गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै मालपोत कार्यालय बाँकेमा ‘नागरिक सहायता कक्ष’ सञ्चालनमा ल्याउनुभएको छ। मंगलबार आयोजित कार्यक्रमबीच उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको हो।
निर्वाचन प्रचारका क्रममा “जितेको १५ दिनभित्र सेवा केन्द्र स्थापना गर्ने” घोषणा गर्नुभएका राईले उक्त वाचा निर्धारित समयभन्दा अघि नै, जितेको १० दिनमै पूरा गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले कागजात नष्ट हुँदा श्रेस्ता कायम गर्न नागरिकले भोग्दै आएको आर्थिक तथा मानसिक पीडालाई मध्यनजर गर्दै यो पहल गरिएको बताउनुभयो।
“कागजात जलेपछि श्रेस्ता मिलाउन नागरिकले ठूलो रकम खर्च गर्नुपर्ने र सास्ती खेप्नुपर्ने अवस्था मैले नजिकबाट देखें। त्यही समस्यालाई समाधान गर्न यो सेवा केन्द्रको अवधारणा ल्याएको हुँ,” राईले भन्नुभयो।
उहाँले सेवा केन्द्रबाट विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकले बढी लाभ लिनुपर्नेमा जोड दिँदै सबैलाई समान रूपमा सेवा उपलब्ध हुने स्पष्ट पार्नुभयो। साथै सेवा केन्द्र स्थापनामा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिका र मालपोत कार्यालय बाँकेप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
“मैले गरेको वाचा पूरा भयो कि भएन, तपाईंहरू नै हिसाब राख्नुहोस्। अन्य वाचाहरू पनि क्रमशः पूरा गरेर देखाउनेछु,” भन्दै उहाँले अन्य जनप्रतिनिधिका वाचाहरूको पनि नागरिकले निगरानी गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामला तथा कानून मन्त्री आदेश अग्रवाल तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रशान्त बिष्टको उपस्थिति रहेको थियो। उनीहरूले सांसद राईको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नागरिक सेवामा सुधार ल्याउन थप सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
यसैगरी, भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सविन चौधरीले ‘नागरिक सहायता कक्ष’ स्थापना भएपछि लेखापढीसम्बन्धी कामका लागि सेवाग्राहीलाई सहजता पुग्ने विश्वास व्यक्त गर्दै पहलका लागि धन्यवाद ज्ञापन गर्नुभयो।














