नेपालगञ्ज । भेरी अस्पताल को भौतिक पूर्वाधार पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा सुदृढ बनेको छ। देशकै जेठो अस्पताल बीर अस्पताल सँगै स्थापना भएको इतिहास बोकेको भेरी अस्पताल अहिले अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा बाँके–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद ईस्तियाक राईको पहलमा २०७९ सालमा
अस्पतालको नयाँ भवन शिलान्यास गरिएको थियो। बजेट सुनिश्चिततासहित सुरु गरिएको निर्माण कार्य सम्पन्न भइसकेको छ र नयाँ भवनबाट उपचार सेवा सञ्चालनमा आइसकेको छ। जिर्ण संरचनाबाट आधुनिक पूर्वाधारमा रूपान्तरण भएसँगै सेवा प्रवाहमा सहजता आएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालसँगै क्षेत्रीय रक्तसञ्चार केन्द्रको नयाँ भवन निर्माणमा पनि राईको भूमिका रहेको बताइएको छ।वि.सं. १९४७ मा पृथ्वी वीर अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भएको यो अस्पताल वि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रसूति गृहका नाममा सञ्चालन भएको थियो। पछि वि.सं. २०२२ सालदेखि भेरी अञ्चल अस्पतालका रूपमा परिचित हुँदै आएको यो संस्था हाल पश्चिम नेपालका लाखौँ नागरिकको भरोसाको केन्द्र बनेको छ। साविक मध्यपश्चिमका करिब ३९ लाख र सुदूरपश्चिमका करिब ३० लाख गरी करिब ६९ लाख जनसंख्याले यस अस्पतालबाट सेवा लिँदै आएका छन्।पूर्वाधार विस्तार भएसँगै अब गुणस्तरीय सेवा र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै उम्मेदवार राईले यसलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले पूर्वाधार निर्माणपछि सेवा सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै भेरी अस्पताललाई पश्चिम नेपालको भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्।














