जनता समाजवादी पार्टी (जसपा) बाँकेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई सर्वसम्मत एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
सोमबार बसेको जसपा बाँकेको विस्तारित बैठकले बाँकेका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको हो। बैठकको निर्णयअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ अमर खड्का र मोहम्मद सलीम हलवाई (बाबु नेता) को नाम अघि सारिएको छ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ जयप्रकाश वर्मा (चिन्टु वर्मा), तरन्नुम बानो राई, हिरालाल लोनिया, गयासुद्दिन खान र असलम अन्सारीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष दुर्गाप्रसाद बर्माले जानकारी दिनुभयो।
समानुपातिकतर्फ भने मोहम्मद जावेद खान, गीता कुमारी ठकुरी, हसिना खान, तरन्नुम बानो ढपाली, नसरीन हल्वाई, अनिस धोबी, रुही बानो हलवाई, किरण वर्मा, जनक कुमारी चिडीमार, हुमा युनुस हल्वाई, उमेस यादव र लिला सिंह मल्लको नाम सिफारिस गरिएको छ।
जसपा बाँकेले सिफारिस गरेका उम्मेदवारहरूको अन्तिम निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने र त्यसपछि उम्मेदवारहरूको औपचारिक घोषणा हुने जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले बताउनुभयो।














