नेपालगन्ज- कार्तिक १४ र १५ गते नेपालगन्जमा आयोजना हुने नेशनल स्वीमिङ च्याम्पियनसिपमा देशभरका दुई सयभन्दा बढी पौडी खेलाडी सहभागी हुने भएका छन्। विद्यालयस्तरीय रूपमा हुने यो प्रतियोगिता नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा सञ्चालन हुने क्लब अध्यक्ष केशव न्यौपानेले जानकारी दिए।
उनका अनुसार सातै प्रदेशका खेलाडीहरू सहभागी हुने प्रतियोगितामा ५६ वटा इभेन्ट सञ्चालन गरिनेछ। “विद्यालयस्तरको भए पनि राष्ट्रिय स्तरको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,” अध्यक्ष न्यौपानेले बताए।
क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीका अनुसार, प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। आर्थिक स्रोत व्यवस्थापनदेखि पूर्वाधार तयारीसम्मका सबै काम लगभग सम्पन्न भइसकेको उनले जनाए। “सरकारी र संस्थागत सहकार्यका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको छ,” उनले थपे।
नेपाल स्वीमिङ संघको वार्षिक क्यालेन्डरमा समावेश गरिएको यो राष्ट्रिय प्रतियोगिता पहिलो पटक नेपालगन्जमा हुँदैछ। गत वर्ष प्रदेशस्तरीय च्याम्पियनसिप आयोजना गरेको नेपालगन्ज स्वीमिङ क्लबले यसपटक राष्ट्रिय स्तरमै आयोजना गर्ने जिम्मेवारी लिएको हो।
यसैबीच, क्लबले प्रतियोगितामा प्रदेश सरकारको सहकार्य सुनिश्चित गर्न मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटी आवश्यक प्रस्ताव समेत बुझाएको क्लब सदस्य कृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार, क्लब अध्यक्ष न्यौपाने र वरिष्ठ उपाध्यक्ष अधिकारीसहितका पदाधिकारीले मुख्यमन्त्रीसँग भेटघाट गरी प्रतियोगिता तयारीबारे परामर्श गरेका छन्।














