बाँके–असोज २२ –आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (ईएपी) छनोटअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल कुवेतसँग खेल्दैछ।
यो खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुने छ।
छनोट प्रतियोगितामा कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्। टिमहरू दुई समूहमा विभाजित छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्।
सुपर सिक्समा पुगेपछि शीर्ष तीन टोलीले आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपमा खेल्ने अवसर पाउनेछन्।
नेपालले यसअघि तयारीका क्रममा कतारविरुद्धको अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको थियो। अब नेपाल कुवेतमाथि जित निकाल्दै सफल सुरुवात गर्ने लक्ष्यमा छ।














