’बाँके–२ कांग्रेस उम्मेद्वार सुधांशु कोइरालासँग घरदैलो संवाद’
चुनाव केन्द्रीत घरदैलोमा रहेका
बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेद्वार युवा नेता सुधांशु कोइरालासँग नेपाल प्रेस युनियन प्रतिनिधिले हिंडदा हिंड्दै विभिन्न वडामा पुगेर संवाद गरेका छौं । उहाँसँग गरिएको संवादका मुख्य अंश :
–पहिलो पटकमै संसदीय उम्मेद्वार हुनुभयो लक्ष्य के हो तपाईंको ?
ःमलाई मेरो पार्टीले विश्वास गरेको छ,अबको लक्ष्य जनताको विश्वास जित्ने नै हो ।
–संसदीय क्षेत्रमा तपाँईका चुनावि मुद्दाहरु के के हुन ?
ः मुलतः संविधानको कार्यान्वयन र त्यसमाथि आवश्यक सुधार नै हुन,लोकतान्त्रिक व्यवस्था मजवुत गर्नु नै नेपाली कांग्रेसको र मेरो मुद्दा हो । त्यसका लागि राजनीतिक स्थायीत्व हो । साथमा यस क्षेत्रको भौतिक विकासमा मेरो भूमिका सक्रियताका साथ रहने छ।
–तपाँईले यस क्षेत्रका स्थानीय आवश्यकतालई कसरी केलाउनु भएको छ नि ?
ःयो महत्वपुर्ण विषय हो । नेपालगन्ज र डुडुवा क्षेत्रमा भौतिक विकासका लागि संसदमा आवाज उठाउनेछु ।बजेट वितरण गर्दा जोडदार रुपमा मेरा दावि रहनेछन् । भौतिक विकास,प्रविधि क्षेत्रको विकास,रोजगारी,पर्यावरणीय मुद्दा,शहरीकरणको वैज्ञानिक व्यवस्थापन,खेलकुद र खेलाडीको सर्वाङ्गीण विकास,अल्पसंख्यक समुदायको हक र अधिकारको प्रत्याभूति मेरा मुद्दा हुन् । यी विषय व्यापक छन,म यति भन्छुकी एउटा सासंसदले खेल्नुपर्ने भूमिकामा म चुक्ने छैन् ।

–तपाईंको मुख्य प्रतिष्पर्धा कोसँग हो भन्ने लागेको छ ?
ःउम्मेद्वारी दर्ता गराएका सबैसँग स्वस्थ प्रतिष्पर्धा हो भन्ने ठान्छु,तर मुख्य–मुख्य राजनीतिक दल नै प्रतिष्पर्धि हौं ।
–घरदैलोमा हिंड्दा बाँकेको क्षेत्र नं. २का मतदाताहरुको मुड बुझ्नुभयो त ? अनि चुनाव जित्ने आधार के–के हुन ?
ःनेपाली कांग्रेस लोकतान्त्रिक पुरानो एक मात्र दल हो,मतदाताहरुमाथि पुर्ण विश्वास गर्दछु । तर मतदाताहरु कुनै दबाव र प्रभावमा पर्नु हुँदैन् । चुनाव जित्ने मुख्य आधार नै कांग्रेसको सिद्धान्त र कार्यक्रम हो । हामी उम्मेद्वारहरुका कार्यशैली र विगतलाई मतदाताले केलाउनुहोस भन्छु । व्यवस्था,कार्यक्रम र कार्यशैलि नै चुनाव जित्ने आधार हुन् । म ब्यक्ति मात्रै केही होईन तर मेरो राजनीतिक संस्कार र पार्टीको मुद्दा नै मेरो चुनाव जित्ने जग हो । व्यक्तिगत रुपमा म एक सचेत नागरिक हुँ अनि पार्टी संगठन मेरा आधार हो । मतदाताले विकास र सुशासन खोजेका छन् ।
–तपाँई राजनीतिक रुपमा स्थापीत कोइराला परिवारको सदस्य पनि हो नि के यसपटक विरासत फर्काउन सक्नुहुन्छ त ?
ःहेर्नुस हामी हाम्रो पारिवारिक पृष्ठभूमीमा गर्व गर्दछौं । विरासत भन्ने मुल विषय होईन । पार्टीले दिने जिम्मेवारी र कामको मुल्यांकन गर्ने परिपाटीलाई आत्मसाथ गर्दछु । बाँकेले केन्द्रिय सभापति र प्रधानमन्त्री पाएको परिवारको सदस्यका नाताले म आँफुलाई सौभाग्यशाली ठान्दछु । यद्यपी पार्टीको निर्णय र क्रियाशिलतामा विश्वास गर्दछु । जनताको मतले स्थापीत हुने परम्मपरा माथि भरोषा गर्दछु । यस पटक मलाई यो क्षेत्रमा कांग्रेसले गुमाएको सिट फर्काउँछु भन्ने आत्मविश्वास छ ।
–यसपटकको चुनावले तपाँईलाई के विषयलाई स्थापीत गर्नसक्नुपर्छ भन्ने लागेको छ ?
ःम फेरी पनि दोहोर्याउँछु कि हामीले लोकतन्त्रिक प्रक्रिया र राजनीतिक स्थायीत्वलाई स्थापीत गराउनु पर्ने छ । अल्पायुमा संसद भङ्ग हुने अस्थिरताबाट देशलाई सुरक्षित गरेर अघि बढ्नुपर्ने हो । भौतिक विकास र बजेटको समान वितरणका लागि मेरा प्रयासहरु निरन्तर जारी नै रहने छन् ।
–जेनजेड पुस्ताका लागि तपाँईको सन्देश के छ ?
ः हरेक परिवर्तनमा युवाको महत्वपुर्ण भूमिका रहन्छ,जेन जेड पुस्ताले उठाएको परिवर्तनको आवाज कांग्रेसले नै सम्बोधन गर्न सक्छ,हामी जेन जेड पुस्तालाई नेपाली कांग्रेसको लोकतान्त्रिक प्रतिबद्धतालाई विश्वास गर्न अनुरोध गर्दछु । सुशासनको प्रत्याभुति दिलाएर भ्रष्ट्राचार रोक्न हामी शतप्रतिशत काम गर्ने छौं । देशलाई सहि मार्गमा लैजान कांग्रेसको रोडम्यामलाई साथ दिन अपील गर्दछु ।














