नेपालगन्ज : नेपाली कांग्रेसले बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प–पत्र सार्वजनिक गरेको छ। मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा संकल्प–पत्र सार्वजनिक गर्दै कोइरालाले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए।
संकल्प–पत्रमा सुशासन, पारदर्शिता, कानुनको शासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ।

नेपालगन्जमा वृहत् चक्रपथ निर्माण, सडक–ढल विस्तार, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति, भारतसँग आयात–निर्यात सहजता तथा स्थानीय उद्योग प्रवर्द्धनका लागि पहल गर्ने उल्लेख गरिएको छ।
यसैगरी भेरी अस्पताललाई ५ सय शैयामा स्तरोन्नति, शिक्षाको डिजिटल प्रणाली विस्तार, सिँचाइ सुविधा वृद्धि, खेलमैदान निर्माण तथा धार्मिक–सांस्कृतिक क्षेत्रको संरक्षणमा जोड दिइएको छ। कार्यक्रममा पार्टीका नेताहरूले कोइराला योग्य र सक्षम उम्मेदवार भएको बताएका छन्।















