नेपालगन्ज – “विकासका लागि इस्तियाक राईलाई जिताउनुपर्छ,” नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारी भन्छन्, “अरूलाई जिताएर नेपालगन्ज र डुडुवाको हुनुपर्ने विकास सम्भव हुँदैन।”
उनका अनुसार विकास गर्न केन्द्रसँग बलियो पहुँच, अनुभव र कार्यकुशलता चाहिन्छ। तीन पटक मन्त्री भइसकेका तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिधा पहुँच रहेका कारण मोहम्मद इस्तियाक राईले क्षेत्रको विकासलाई तीव्र गति दिन सक्ने तर्क उनी राख्छन्।
बाँके क्षेत्र नम्बर २ का उम्मेदवार राई मन्त्री हुँदा जिल्लामा उल्लेख्य पूर्वाधार थपिएको समर्थकहरूको दाबी छ। रेडक्रस भवन, भेरी अस्पतालको नयाँ भवन, सिटी हल, जमुनाह–राँझा अस्फाल्ट पिच सडक, नेपालगन्ज–गुलरिया फोरलेन सडक, ट्राफिक लाइट जडान, सिधनियास्थित राप्ती नदीमा डबललेन पुल तथा डुडुवा नालामा सात वटा पुलको काम उनको पहलमा अघि बढेको उल्लेख गरिन्छ।
डुडुवाका अम्रहवाघाट, हल्कारापुरुवा, राजारामपुरुवा, नौरीगौडी–बाबागाउँ, छिट्टैपुरुवा–चौफेरी, सैरहीघाट र मिलनचोकका डबललेन पुलमध्ये केही निर्माण सम्पन्न भइसकेका छन् भने केही ठेक्का प्रक्रियामा छन्। धम्बोझी मावि र धम्बोझीको ब्याडमिन्टन कोर्टजस्ता साना योजनासमेत उनले मन्त्री हुँदा अघि सारेको दाबी गरिन्छ।
समर्थकहरूको बुझाइमा विकासका लागि राजनीतिक पहुँच अनिवार्य हुन्छ। “समयले विकास गर्छ, तर द्रुतगतिमा विकास गर्न अनुभवी र पहुँच भएका नेता चाहिन्छ,” उनीहरू भन्छन्। ४६ वर्षीय राई स्नातकोत्तर उत्तीर्ण नेता हुन्। वि.सं. २०५३ देखि राजनीतिमा सक्रिय उनी २०६४ र २०७४ मा निर्वाचित भएका थिए। २०६७ मा श्रम तथा यातायात मन्त्री, २०७४ मा शहरी विकास मन्त्री र २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
केही दिनअघि महेन्द्र पुस्तकालयमा आयोजित अन्तरक्रियामा अन्य उम्मेदवारले सांसदको भूमिका नीति निर्माणमा केन्द्रित हुनुपर्ने बताए पनि राईले पूर्वाधारलाई विकासको आधार माने। “सडक, नाला र पूर्वाधार नभए उद्योग आउँदैन, बजार बस्दैन, रोजगारी सिर्जना हुँदैन,” उनले बताएका थिए। विजुली, बाटो र आधारभूत संरचना नै समृद्धिको जग भएको उनको तर्कमा सहभागीहरूले ताली बजाएका थिए।
राप्ती नदीमा डबललेन पुल निर्माण गरी कञ्चनपुरदेखि दाङसम्म हुलाकी सडकमार्फत आर्थिक करिडोर बनाउने उनको दीर्घकालीन रणनीति रहेको बताइन्छ।
क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २ सय ९० मतदाता रहेका छन्। यहाँ मतदाताले पार्टीसँगै प्रभावशाली व्यक्तित्वलाई पनि मूल्यांकन गर्ने विश्लेषण गरिन्छ। समर्थकहरूका अनुसार विकासको एजेन्डा र पहुँचका कारण इस्तियाक राई यसपटक पनि बलिया दाबेदारका रूपमा उभिएका छन्।














