बाँके। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई ले आफ्नो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। सोमबार नेपालगञ्जमा आयोजित कार्यक्रममा उनले “समृद्ध नेपालगञ्ज–डुडुवा, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित दस्तावेज सार्वजनिक गर्दै समग्र विकासको खाका प्रस्तुत गरे।
राईले पूर्वाधार तथा सहरी विकास, उद्योग–व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, पर्यटन, सुशासन, प्रविधि विस्तार र समावेशी विकासलाई प्राथमिकतामा राखिएको बताए। नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, खेलकुद र उद्योगको क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य आफ्नो रहेको उनले स्पष्ट पारे।
विगतमा सांसद तथा मन्त्री हुँदा नेपालगञ्जलाई २४ जिल्लाको व्यापारिक हब बनाउने पहल गरेको दाबी गर्दै उनले आकाशे पुल निर्माणको योजना अदालतबाट स्वीकृति नपाउँदा कार्यान्वयन हुन नसकेको उल्लेख गरे। साथै आफ्नै पहलमा भेरी अस्पताल को स्तरोन्नति गरिएको जनाउँदै अब यसलाई विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी प्रदेशमै बाँकेमा मातृ तथा शिशु मृत्युदर उच्च रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र पूर्वाधार सुदृढीकरणमार्फत समस्या समाधान गर्ने योजना अघि सारे।
“अब अनुभव र परिणाममुखी कामको राजनीति आवश्यक छ,” राईले भने, “जनताको विश्वासले अधुरा योजना पूरा गर्दै नेपालगञ्ज–डुडुवालाई समृद्ध र अवसरयुक्त क्षेत्रका रूपमा स्थापित गर्नेछ।”














