नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–४ मा घटेको घटनालाई आधार बनाएर पूर्वमन्त्री मोहम्मद इश्तियाक राईको नाम जोड्दै अनावश्यक रूपमा चरित्रहत्या गर्न खोजिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले कडा आपत्ति जनाएको छ।
पूर्वमन्त्री राईका सचिवालय संयोजक राजेन्द्र विश्वकर्माले जारी गरेको विज्ञप्तिमार्फत तथ्यहीन आरोप फैलाइ बदनाम गर्न खोजिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
शुक्रबार रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा विभिन्न सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरू पार्टी र पूर्वमन्त्री राईलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको भ्रामक प्रचार भएको दाबी विज्ञप्तिमा गरिएको छ।
विज्ञप्तिमा बलात्कारजस्ता गम्भीर र संवेदनशील अपराधमा संलग्न जोसुकै भए पनि कानुन अनुसार कडा कारबाही हुनुपर्नेमा पार्टीको स्पष्ट र दृढ अडान रहेको जनाइएको छ। कानुनी शासन र संविधानभन्दा माथि कोही पनि नहुने मान्यताप्रति आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारिएको छ।
डुडुवा–४ को घटनामा मात्र होइन, कुनै पनि विवादित विषयमा पूर्वमन्त्री राईले दबाब दिने कार्य गर्ने कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै प्रहरीले कुनै हस्तक्षेपबिना स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न पाउनुपर्ने धारणा व्यक्त गरिएको छ।
समाजको समग्र हित, सुरक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि अपुष्ट, भ्रमपूर्ण र तथ्यविहीन समाचार प्रकाशन तथा प्रशारण नगर्न मिडिया र नागरिक सबैलाई आग्रह गरिएको छ। सूचना सार्वजनिक गर्दा सत्यताको पुष्टि अनिवार्य हुनुपर्नेमा विज्ञप्तिले जोड दिएको छ।














