नेपालगञ्ज, १३ पुस । नेपालगञ्जस्थित होटल कलपत्रुले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य सांगितिक उत्सवका साथ स्वागत गर्ने तयारी गरेको छ। नयाँ वर्षलाई विशेष, आकर्षक र स्मरणीय बनाउने उद्देश्यले होटलले चर्चित कलाकारहरूको प्रस्तुति सहित विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।
अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिने कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी, लोकप्रिय गायक महेश काफ्ले तथा कलाकार संचिता बुलाखे विशेष आकर्षणका रूपमा रहनेछन्। साथै लाइभ म्युजिक, डिजे, सांगीतिक प्रस्तुति तथा विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने होटल व्यवस्थापनले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिन होटल कलपत्रुमा आयोजित पत्रकार सम्मेलनमार्फत व्यवस्थापन पक्षले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। पाहुनाहरूका लागि विशेष खानाका परिकार, आकर्षक सजावट तथा पारिवारिक र सभ्य वातावरणको व्यवस्था गरिएको जनाइएको छ।
होटल कलपत्रुले नयाँ वर्षको अवसरमा पाहुनाको सुरक्षा र सहजतालाई प्राथमिकता दिँदै व्यवस्थित कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। आयोजकका अनुसार यस कार्यक्रमले नेपालगञ्जको मनोरञ्जन तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।














