नेपालगन्ज, बाँके-नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक (EAP) छनोटको उपाधि शानदार रूपमा जितेको छ। ओमानमा सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित उपाधि आफ्नो नाममा दर्ता गरेको हो।
नेपाल शीर्ष स्थानमा रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ। यसै क्रममा ओमान दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन्।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो। सामोआका लागि सेन सोलिया ले सर्वाधिक ४० रन बनाए।
बलिङतर्फ नेपालका ललित राजवंशी ले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेल ले पनि एक–एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो।
नेपालका तर्फबाट आसिफ शेख ले ४१ बलमा ६९ रन र दिपेन्द्र ऐरी ले ३३ बलमा ५३ रनको अर्धशतकीय योगदान दिए।














