नेपालगन्ज, बाँके-नेपाल प्रहरी दिवसको ७० औं वार्षिकोत्सव “नागरिक प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथ शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेमा उत्साहपूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक अंगुर जि.सी.ले समारोहको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा पूर्व प्रहरी, अमर प्रहरी परिवारका सदस्यहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका क्रममा प्रहरी नायव निरीक्षक दिपक पातलीले प्रहरी महानिरीक्षकबाट प्राप्त शुभकामना सन्देश वाचन गर्नुभएको थियो। त्यसैगरी, पूर्व प्रहरी कर्मचारीहरूको तर्फबाट पूर्व नायव उपरीक्षक शसिधर अधिकारी र अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सहित उपस्थित प्रहरी कर्मचारी र अतिथिहरूले अमर प्रहरी स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
यस अवसरमा जेष्ठ पूर्व प्रहरी तथा जग्गादातालाई नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत पनि गरिएको थियो।
समापन मन्तव्यका क्रममा प्रहरी उपरीक्षक अंगुर जि.सी.ले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। उहाँले अग्रज पूर्व प्रहरीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै समाजमा शान्ति र सुव्यवस्था कायम गर्न कुनै पनि परिस्थितिमा अहोरात्र खटिने नेपाल प्रहरीको प्रतिबद्धता दोहोर्याउनुभयो।














