बाँके–असोज २२–नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रमा दुर्गा मूर्ति विसर्जनको क्रममा सहभागी भक्तजनमाथि फोहर फालिएको घटनालाई लिएर उत्पन्न विवादबारे जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार मिति २०८२ असोज १७ गतेको उक्त घटनामा फोहर फाल्ने व्यक्ति पहिचान भई मिति २०८२ असोज १९ गते नियन्त्रणमा लिइएको थियो। घटनापछि पीडित पक्षले कानूनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।
तर, घटनामा संलग्न विपक्षी पक्षका व्यक्तिले क्षमायाचना गरेको र उक्त पक्षसँग सानो नाबालक बच्चा समेत रहेको कारण मानवीय संवेदनशीलता ध्यानमा राखी पीडित पक्षले माफी दिँदै कानूनी कारबाही अघि नबढाउने निर्णय गरेका छन्। दुबै पक्षबीच आपसी सहमति र मिलापत्र भई घटना समाधान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले एक आपसमा सामाजिक सद्भाव कायम राखी भ्रामक समाचार वा हिंसात्मक गतिविधिबाट टाढा रहन सबैमा आग्रह गरेको छ। साथै, शान्ति, सुव्यवस्था र आपसी सौहार्द कायम गर्न सबै पक्षले सहयोग गर्नुपर्ने जनाएको छ।















