नेपालगन्ज — नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा समूहको बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन आज नेपालगन्जमा सुरु भएको छ।
धर्मेन्द्र बर्माको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले गरेका हुन्। कार्यक्रमको उद्घाटन बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर गरिएको थियो।
अधिवेशनमा नेपाली कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्रबहादुर हमाल, कर्णाली प्रदेश संयोजक रंगमती शाही, नेपाली कांग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, निरञ्जन सिंह सिजापती, लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, पूर्वप्रदेशसभा सदस्य मो. याकुब अन्सारी र हुर्मत न्यौपानेलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा पार्टीका क्रियाशील सदस्य, विभिन्न तहका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ।
अधिवेशनबाट नगर तथा क्षेत्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ। पार्टीको संगठनलाई थप सुदृढ बनाउने र नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले आयोजित अधिवेशनलाई कांग्रेसको आन्तरिक सांगठनिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।














