नेपालगन्ज, बाँके। गोल्डेन एबीसी स्कुल तथा एकेडेमीका सञ्चालक विकासबहादुर सिंहले प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहसँग नेपालगन्जमा विशेष भेटघाट तथा संवाद गर्नुभएको छ। भेटघाटका क्रममा बाँके जिल्लाका विभिन्न महत्वपूर्ण विषय, नेपालगन्जको ऐतिहासिक पहिचान, सामाजिक सद्भाव र समग्र विकासका सम्भावनाबारे विस्तृत छलफल भएको छ।
छलफलका क्रममा नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव विशेष चर्चाको विषय बनेको थियो। डा. अमरेश कुमार सिंहले नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायबीच रहँदै आएको आपसी भाइचारा, सहिष्णुता र मेलमिलापको प्रशंसा गर्नुभयो। उहाँले नेपालगन्ज केवल एउटा सहर मात्र नभई विविध समुदायबीचको एकता, सद्भाव र भाइचाराको उदाहरणका रूपमा स्थापित रहेको धारणा व्यक्त गर्नुभयो।
डा. सिंहले नेपालगन्जको यही विशेष पहिचानलाई कायम राख्दै आपसी विश्वास र सहकार्यका माध्यमबाट विकासको यात्रालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको बताइएको छ।
भेटघाटका क्रममा गोल्डेन एबीसी स्कुल तथा एकेडेमीका सञ्चालक विकासबहादुर सिंहले पनि नेपालगन्जको सामाजिक सद्भाव यहाँको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभयो। उहाँका अनुसार विभिन्न धर्म, संस्कृति र समुदायका मानिसहरूबीच कायम रहेको आत्मीय सम्बन्धले नेपालगन्जलाई अन्य सहरभन्दा विशिष्ट बनाएको छ।
सिंहले भन्नुभयो, “नेपालगन्जको वास्तविक पहिचान यहाँको सद्भाव, आपसी विश्वास र भाइचारा हो। हिन्दू, मुस्लिमलगायत सबै समुदायबीच रहेको प्रेम र सहकार्यलाई अझ बलियो बनाउँदै लैजानुपर्छ। सामाजिक एकता कायम राख्दै शिक्षा, विकास र सामाजिक सेवाका क्षेत्रमा सबै मिलेर काम गर्न सके नेपालगन्जलाई अझ समृद्ध र उदाहरणीय सहर बनाउन सकिन्छ।”
उहाँले बाँके जिल्लाको समग्र विकासका लागि सबै पक्षबीच सकारात्मक संवाद, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।
त्यस्तै, डा. अमरेश कुमार सिंहले नेपालगन्जलाई आपसी सद्भाव र भाइचाराको प्रतीकका रूपमा थप स्थापित गर्नुपर्ने धारणा राख्नुभएको छ। विविधताबीचको एकता नै नेपालगन्जको शक्ति भएको उल्लेख गर्दै उहाँले यस ऐतिहासिक पहिचानलाई आगामी पुस्तासम्म जोगाइराख्नु सबैको साझा जिम्मेवारी रहेको सन्देश दिनुभयो।

यो भेटघाटले नेपालगन्जको ऐतिहासिक गौरव, धार्मिक सहिष्णुता, सामाजिक एकता र विकासका विषयमा सकारात्मक संवादलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।














